कांग्रेसमा एकता र मेलमिलाप अपरिहार्य छः प्रजातन्त्र सेनानी संघ (भिडिओसहित)


काठमाडौं, २१ पुस । नेपाल प्रजातन्त्र सेनानी संघले विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक आत्मसाथ गर्दै समाधानको बाटोमा अघि बढ्नुपर्ने बताएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले कांग्रेसमा एकता र मेलमिलाप अपरिहार्य रहेको बताएको हो ।

कांग्रेसले स्थापना कालदेखि नै कान्तिकारी र मध्य मार्गको बाटो अवलम्बन गर्दै सफलता हासिल गरेको स्मरण गराउदै प्रजातन्त्र सेनानी संघले जेन(जी आन्दोलनपश्चातको विषम परिस्थितिमा पनि मध्य मार्गको बाटो अवलम्बन गर्दै पार्टी भित्रको एकतालाई मजबुत बनाउँदै विद्यमान समस्याको समाधान तत्काल निकाल्न अनुरोध गरेको छ ।

त्यस्तै, आगामी २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलसँग गठबन्धन नगरी सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिनको लागि पनि ध्यानाकर्षण गराइएको छ ।

प्रजातन्त्र सेनानी संघले कांग्रेसका नेतृत्वहरु एक ढिक्का भई ध्रुवीकरणलाई प्रशय नदिई आपसी एकता र मेलमिलापको बाटो अवलम्बन गर्न आग्रह गरेको छ ।

प्रतिनीधि सभा प्रत्यक्ष एवम् समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनमा काग्रेसको निर्माणमा समर्पित प्रजातन्त्र सेनानी, पार्टीमा दुःख र लगानी गरेका, अवसरबाट बञ्चित भएका, विभिन्न आन्दोलनमा जेल, नेलमा परेका, अंगभंग भएका तथा सहिद परिवारलाई यथोचित अवसर प्रदान गरिनुपर्ने पनि उनीहरूको माग छ ।