काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले अब पार्टीमा विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब विशेष महाधिवेशनलाई छाडेर एकतावद्ध भई निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले अहिले प्रमुख र प्राथमिक विषय निर्वाचन रहेको र त्यसपछि १५औं महाधिवेशन गरिने बताए ।
‘विशेष महाधिवेशन हुँदैन । विशेष महाधिवेशनको औचित्य सकियो भनेर केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । त्यो निर्णय सबैले मान्नुपर्छ । देशभरमा रहेका पार्टीका तमाम कार्यकर्ता साथीहरु निर्वाचनको तयारीमा जुट्नुपर्छ । एकतावद्ध ढंगले हामीले निर्वाचनमा जानुपर्छ । यो अहिले हाम्रो प्रमुख र प्राथमिक विषय नै निर्वाचन हो आजको दिनमा । निर्वाचनपछि १५औं महाधिवेशनको कार्यतालिका ल्याएका छौं,’– उनले भने ।
नेता सिटौलाले यतिबेला आन्तरिक प्रतिस्पर्धा गर्ने उपयुक्त समय नरहेको बताए । उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको नाममा कलह हुन खोजेको भन्दै त्यसप्रति आफूहरु सचेत रहेको बताए ।




प्रतिक्रिया