काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छानिएका रचनाहरू समेटिएको पुस्तक सङ्ग्रह सार्वजनिक गरिएको छ। ‘पुष्पलालका छानिएका रचना’ शीर्षकमा प्रकाशित सङ्ग्रहमा उनका रचनाका चार भाग र नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक पुस्तक गरी कूल पाँचवटा पुस्तक समावेश छन्।
यी पाँचवटै पुस्तक एकै बन्डलमा प्रकाशित गरिएको हो। जसको मूल्य ३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ। पुस्तकको प्रकाशन लिपि बुक्सले गरेको हो।
प्रकाशक लिपि बुक्सका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पुष्पलाललाई एक सिद्धहस्त लेखक, दार्शनिक तथा दूरदर्शी राजनेताका रूपमा स्मरण गरे। नेपाल कम्युनिष्ट आन्दोलन र समग्र नेपाली राजनीतिमा पुष्पलालले पुर्याउनुभएको योगदान अमूल्य रहेको उल्लेख गर्दै अधिकारीले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजका रूपमा उनका सम्पूर्ण कृतिहरूलाई एउटै बन्डलमा बजारमा ल्याउने निर्णय गरिएको बताए।
‘कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा पुष्पलालले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँका सबै पुस्तकहरू एउटै सङ्ग्रहमा समेटेर सार्वजनिक गरेका हौँ,’ अधिकारीले भने, ‘यो सङ्ग्रह भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्तावेज बन्ने विश्वास लिएका छौँ।’
अधिकारीका अनुसार यो पुस्तक सङ्ग्रह नेपाली पाठकहरूका साथै राजनीतिमा चासो राख्ने व्यक्तिहरू, राजनीतिक रिपोर्टिङमा संलग्न पत्रकार, अनुसन्धानकर्ता तथा अध्येताहरूका लागि उपयोगी हुनेछ। ‘पुष्पलालका विचार, लेखन र राजनीतिक दृष्टिकोण बुझ्न चाहने सबैका लागि यो सङ्ग्रह मार्गदर्शक बन्नेछ,’ उनले भने।
पुस्तकहरूको संकलन तथा सम्पादन पुष्पलाल अध्ययन समाजले गरेको हो। समाजले पुष्पलालका विभिन्न कालखण्डका लेख, दस्तावेज र ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै उहाँको वैचारिक योगदानलाई अभिलेख गर्ने प्रयास गरेको जनाएको छ।
पुष्पलालका छानिएका रचनाको प्रकाशनले नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बुझ्न र नेपाली राजनीतिक चिन्तनको विकासक्रम अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया