राष्ट्रपतिलाई बुझाइयो महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन


काठमाडौं, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले महान्यायाधिवक्ता भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका हुन् ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले वार्षिक प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताएका छन् ।

प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ता भण्डारीले वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा गरिएका अभियोजनसम्बन्धी मुद्दाको विवरण, सरकारको हकहित, सरोकार रहेका रिट तथा मुद्दामा गरिएका बहस पैरवी र प्रतिरक्षासहित सुझाव समेटिएको प्रतिवेदन पेश गरिएको बताएकी छन् ।

भण्डारीले कानुनी रायसम्बन्धी विवरण, महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयका स्रोतसाधनको अवस्था, भौतिक स्थिति, जनशक्तिको विवरण, कार्य सम्पादनमा देखिएका समस्या र चुनौती तथा सुझाव समेटिएको जानकारी दिएकी छन् ।