देउवा, ओली र प्रचण्डको ठाउँमा रवि-कुलमान आउँदैमा वैकल्पिक शक्ति हुँदैनः राजनीतिक विश्लेषक रायमाझी


काठमाडौं, २२ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालको संविधान २०७२ लाई मानेर निर्वाचनमा जाने कुनै पनि राजनीतिक दलहरूले आफूलाई वैकल्पिक शक्ति भन्नु जनतालाई झुक्काउने अस्त्रमात्रै रहेको टिप्पणी गरेका छन् । संघीयता, धर्मनिरपेक्ष, गणतन्त्र, समावेशितालगायतका विषय संविधानको प्रस्तावनामै उल्लेख रहेको र यो संविधानअन्तर्गत हुने निर्वाचन र निर्वाचित हुने प्रतिनिधि वैकल्पिक शक्ति हुनै नसक्ने उनको जिकिर छ ।

‘यही संविधानमा सपथ खाएपछि कसरी वैकल्पिक राजनैतिक शक्ति हुन्छन् रु अहिले भएका राजनीतिक दलहरू सैद्धान्तिक रुपले वैकल्पिक शक्ति होइनन्। निर्वाचनको माध्यमबाट राज्यसत्ता हत्याउने र भागशान्तिमा देश लुट्ने कम्पनी चलाउने मात्रै हुन्,’ रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

वर्तमान संविधान परिवर्तन गर्ने अठोट लिएर आउने दलमात्रै वैकल्पिक शक्ति हुने उनले बताए । अहिलेसम्म कुनै पनि राजनीतिक दलहरुले वर्तमान संविधान पुनर्लेखनको मुद्दा नउठाएको उनले बताए । संशोधनबाट संविधानको मूलभूत विषय परिवर्तन हुन नसक्ने उनको जिकिर छ । ‘यो संविधान पुनर्लेखन नगरी कुनै पनि राजनीतिक दल ‌ वैकल्पिक शक्ति बन्न सक्दैन। साना ठूला कम्पनी खोलेर निर्वाचन आयोग नामको कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी दर्ता गर्ने देश लुट्ने धन्दामात्रै हो निर्वाचन। अहिले भएका कुनै पनि दलको स्पष्ट आफ्ना धारणाहरु र अडानहरू छैनन्। जनता लाई फेरि पनिझुकाउने यो धन्दा चलिरहने उद्देश्यबाट निर्वाचन गरिँदै छ,’– उनले भने ।

यही अवस्थामा भएको निर्वाचनबाट राजनीतिक स्थायित्व र देशले दीर्घकालीन आर्थिक समृद्धिको बाटो निर्धारण गर्न नसक्ने राजनीतिक विश्लेषक रायमाझीको दाबी छ । निर्वाचनको नाममा भइरहने अस्थिताले देश जीर्ण हुँदै गएको उनले बताए । जनताको मूल मर्म आत्मसाथ गर्न नसक्ने संविधान र राजनीतिक दलहरूले भागशान्तिबाट चलाउने लुटधन्धाबाट राजनीतिक स्थिरता र मुलुक समृद्ध बन्न नसक्ने रायमाझीको जिकिर छ । देशलाई समृद्ध बनाउन वर्तमान प्रणाली र पात्र परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।

राजनीतिक विश्लेषक रायमाझीले जेनजी क्रान्तिको मूल मुद्दा नै अपहरण भएको पनि बताए । उनले शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’ र केपी ओलीको ठाउँमा रवि लामिछाने, कुलमान घिसिङ आदि पात्र आउँदैमा नेपालीको उज्ज्वल भविष्य सम्भव नरहेको बताए । File Photo/RN