काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेर गलहत्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस वृत्तमा सबैभन्दा बढी लोकप्रिय रहेका महामन्त्रीद्वय थापा र शर्मालाई संस्थापन पक्षका केही नेताहरुले पार्टीबाट कसरी निकाल्न सकिन्छ भन्ने ध्येयका साथ काम गरिरहेको दाबी गरेका हुन् । पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ताले गगनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्न चाहिरहेको केही संस्थापन पक्षका नेताहरुलाई मन नपरेको उनले बताए । संस्थापन पक्षका केही नेताहरु गगन–विश्वलाई कारबाही गरेर निकाल्नका लागि तानाबाना बुनिरहेको नेता शिवाकोटीको दाबी छ ।
‘कांग्रेस वृत्तमा सबैभन्दा बढी लोकप्रिय देखिएका गगन थापालाई कसरी पार्टीबाट धकेलेर पार्टीबाटै बाहिर्याउन सकिन्छ, कारबाही गरेर उनीसहित उनीसँग जोडिएका साथीहरुलाई, पार्टीका कार्यकर्ताहरुलाई निकाल्न सकिन्छ भन्ने ध्येयले काम गरिराखेका छन् कतिपय साथीहरु । यो कुरा पार्टीको हितमा छैन । गगन थापा, विश्वप्रकाशसहितका साथीहरुलाई बाहिर निकाल्दै गर्दा त्यो पार्टी कस्तो होला ? त्यतातिर पो सोच्नुपर्ने हो । पार्टीका साथीहरुले गगनलाई प्रधानमन्त्री बनाउन चाहिरहेका छन् । तर, केही साथीहरु गगन र विश्वप्रकाश पार्टीमा हाबी हुनुभनेको हामीहरु काहीँ रहँदैनौं भन्ने भ्रममा साथीहरु हुनुहुन्छ । जसरी हुन्छ यिनीहरुलाई पार्टीबाट निकाल्न पाए हुन्थ्यो भन्नेखालका तानाबाना बुनिँदै छ । यसले पार्टीको हित गर्दैन,’– नेता शिवाकोटीले भने ।
नेता शिवाकोटीले कांग्रेसको विशेष महाधिवेशन अपरिहार्य रहेको बताए । उनले विशेष महाधिवेशनका पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी हुनुपर्ने बताए । ‘अहिले देशभरीबाट आउन लाग्नुभएका साथीहरुको भावनालाई सम्बोधन गर्नु नै मुख्य कुरा हो । उहाँहरुले २०५९ सालमा पार्टी फुटेको ठाउँमा लैजाने कुरा पनि होइन । यो नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले माग गर्नुभएको विषयलाई कार्यसमितिमा बहुमत छ भनेर त्यसलाई लत्याउने काम गर्नु ठीक भएन । कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले माग गरेको अवस्थामा लत्याउने काम अवैधानिक हो । अवैधानिक कार्यमा नेतृत्व फस्न हुँदैन,’– उनले भने ।
कांग्रेस जनतामाझ जानका लागि पार्टीको नीति, नेतृत्व, विचार र कार्यदिशामा परिवर्तन गरेर जानुपर्ने नेता शिवाकोटीको धारणा रहेको छ । नत्रभने गाउँ–गाउँमा जाने कुनै पनि आधार नहुने उनले बताए । नेता शिवाकोटीले पार्टीका साथीहरुलाई मत माग्न गाउँमा जान पनि विशेष महाधिवेशनको आवश्यकता रहेको बताए । File Photo/RN




प्रतिक्रिया