राष्ट्रिय सभाको निर्वाचनमा एमाले र कांग्रेसबीच सहकार्य हुन्छ, नेकपालाई पनि सँगै लिएर जान चाहेका छौंः विष्णु रिजाल (भिडिओसहित)


काठमाडौं, २२ पुस । नेकपा (एमाले) का नेता विष्णु रिजालले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा आफूहरुको नेपाली कांग्रेससँग कुराकानी भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता रिजालले राष्ट्रिय सभा गठबन्धन गर्नेबारे कांग्रेस–एमालेबीचको नेतृत्व तहमा सहमति बनिसकेको र आज निर्णय हुने बताएका हुन् । प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिले निर्णयमा नपुगिसकेको उनले बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा पहिला नै निश्चित भएका मतदाता हुन्छन् । त्यो मत संख्याको आधारमा कहाँ के हुन्छ भन्ने कुरा आइरहेको छ । हामी नेपाली कांग्रेससँग सहकार्यमा नै छौं । मिलेरै सरकार चलाएका थियौं । अब हामी अहिले पनि लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि हामी एउटै यात्रामा छौं । हाम्रो बीचमा राजनीतिक रुपमा तीब्र प्रतिस्पर्धा पनि छ । हामी मूलभूत विषयहरुमा सहकार्यमा रहन्छौं । राजनीतिक रुपमा प्रतिस्पर्धामा रहन्छौं । प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा भने अहिले हामी निर्णयमा पुगिसकेका छैनौं,’– उनले भने ।

उनले राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य हुन सक्ने पनि उनले बताए । उनले आफूहरुले नेपाली कम्युनिष्ट पार्टीलाई साथमै लिएर जान चाहेको बताए । ‘अहिले कांग्रेस र एमाले मिल्दा पनि राष्ट्रिय सभामा सबै सिट जितिन्छ । पर्याप्त मत छ । तर, हामी नेपाली कम्युनिष्ट पार्टीलाई पनि साथमै लिएर जान चाहन्छौं । धेरै हामीले लोभ गरेको भए त नेकपालाई दिने सिट पनि त कांग्रेस–एमालेले लिन सक्थ्यो नि त,’– उनले भने ।