एमालेले तोक्यो प्रदेश इन्चार्ज : बाग्मतीमा महेश बस्नेत, भानुभक्त ढकाललाई संगठन विभाग


काठमाडौं, २२ पुष । नेकपा (एमाले) को सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी गरेको छ । निर्वाचन परिचालन समितिदेखि घोषणापत्र मस्यौदा समितिसमेत गठन गरेको छ । निर्वाचनको कमाण्डरमा उपाध्यक्ष रामबहादुर थापा तोकिएका छन् । यस्तै, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ ।

यस्तै, आजको बैठकले प्रदेशको इन्चार्जसमेत तोकेको छ । जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ । यस्तै, आजको बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।