काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवालाई फेरि पार्टी फुटाउनेतिर नलाग्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस टुक्रिने अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापति देउवा र अहिलेको केन्द्रीय समितिले लिनुपर्ने बताएका हुन् ।
‘हिजो पनि उहाँले पार्टी फुटाएर दुईवटा बनाउनु भएकै हो । फेरि दोस्रोचोटी कांग्रेसलाई दुईवटा बनाउनेतिर नलाग्नुस् । कांग्रेस टुक्रिने अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्छ, अहिलेको केन्द्रीय कार्यसमितिले लिनुपर्छ,’– उनले भने ।
उनले अहिले पार्टीमा विशेष महाधिवेशन अपरिहार्य रहेको पनि बताए । विशेष महाधिवेशन केन्द्रीय समिति वा महामन्त्रीको मातहतमा रहेको केन्द्रीय कार्यालयले बोलाउन सक्ने बताए । उनले आगामी पुस २७, २८ र २९ गते विशेष महाधिवेशन भएरै छाड्ने दाबी गरे । विशेष महाधिवेशनपछि कांग्रेस नयाँ गति र नयाँ ढंगले अगाडि बढ्ने बताए ।
‘केन्द्रीय समितिले बोलाए पनि भयो । केन्द्रीय कार्यालयले बोलाए पनि भयो । कार्यालय महामन्त्रीहरुको मातहतमा चल्छ । पुस २७, २८ र २९ गते कांग्रेसले विशेष महाधिवेशन गरेर अगाडि बढ्ने परिस्थिति निर्माण भएको छ । त्यसका लागि विभिन्न समिति, उपसमिति बनाउने कामहरु सम्पन्न भएको छ । कांग्रेस अब नयाँ गतिमा र नयाँ ढंगले अगाडि जाँदै छ । अब स्वच्छ वातावरणमा कांग्रेसलाई जैजाउँ भन्ने हाम्रो चाहना हो,’– उनले भने ।
नेता केसीले सभापति देउवा पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरे । पार्टी नै चलाउन नसकेका देउवाले अब देश चलाउन नसक्ने उनले बताए । उनले विशेष महाधिवेशनमा उपस्थित भएर नेतृत्व परिवर्तनका लागि सहयोग गरिदिन आग्रह गरे । ‘नेतृत्व असक्षम भइसक्यो । नेतृत्वबाट अब पार्टी चल्दैन । पार्टी नचल्ने अवस्थामा देश कसरी चलाउन सक्छ ? २७, २८ र २९ गते कांग्रेसको दोस्रो विशेष महाधिवेशन हुँदैछ । सबैलाई भृकुटीमण्डपमा उपस्थित हुनका लागि आग्रह गर्छु,’– उनले भने ।
साथै, उनले राष्ट्रिय सभा र प्रतिनिधिसभामा कुनै दलसँग गठबन्धन गरिनु महासमिति बैठकको खिलाफमा हुने उनको भनाइ छ । कांग्रेसले हार्ने र जित्नेसँग मतलब नराखी एक्लै निर्वाचनमा जानुपर्ने उनको धारणा रहेको छ ।
‘राष्ट्रिय सभामा गठबन्धन गर्ने भनिएको छ । कांग्रेसको महासमिति बैठकको खिलापमा । कि मैले जे गर्यो त्यही सबै चिज हो भने सभापतिले बोल्नुस् । होइन भने पार्टीको विधान छ, महासमिति बैठकको निर्णय छ । हामी राष्ट्रिय सभादेखि टेक्दै फागुन २१ गते हुने निर्वाचनसम्म जाँदा कांग्रेस हार्नेसँग हामीलाई चिन्ता होइन । लोकतन्त्र र नेपाली जनताले जित्नुपर्छ । कांग्रेस हारेर केही फरक पर्दैन,’– उनले भने ।




प्रतिक्रिया