नेपाली कम्युनिष्ट पार्टीले एमालेलगायत कुनै दलसँग पनि चुनावी गठबन्धन गर्दैनः रामदीप आचार्य

‘प्रचण्डले मोदीका सुरक्षा सल्लाहकार डोभलसँग भेट्नुभएको होइन’


काठमाडौं, २२ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता रामदीप आचार्यले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन हुने सम्भावना भए पनि नेपाली कम्यनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन एक्लै लड्ने बताएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँगमात्र नभएर कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गरेका छैनौं । कुनै पनि राजनीतिक पार्टीसँग गठबन्धन गरेर जानेबारे हामीले निर्णय गरेका छैनौं ।’

साथै, पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गैरभौगोलिक प्रदेशको एकता सन्देश सभालाई सम्बोधन गर्न भारत गएको पनि उनले बताए । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा सल्लाहकार अजित डोभलसँग प्रचण्डको भेट नभएको पनि नेता आचार्यले बताए ।

‘प्रचण्डले भेटेको छ भने कुनै प्रमाण ल्याउनुस् । त्यो कुरा फेक समाचार हो । उहाँले प्रवासको एकता सम्मेलनलाई सम्बोधन गर्नुभएको छ र त्यहाँ केही राजनीतिक भेटघाट गर्नुभएको छ । तर, हाम्रो संयोजकले डोभलसँग भेट्नुभएको छैन,’– उनले भने ।