काठमाडौं, २२ पुष । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ । उक्त गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको स्वरले गीतलाई कर्णप्रिय बनाएको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ । सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ ।
गीतको एरेञ्ज सन्तोष राई, इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।
राईका केही गीत यसअघि पनि रेकर्ड भइसकेका छन् । शीला खनालले २०७५ मा राईकै ‘मधुमासमै मीठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै मनमा बी राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा राईकै ‘सन्चो छौ कि बिसन्चो’ गीत गाएका थिए ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, दोर्पाका राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन् । हाल उनी साहित्य र पत्रकारितामा जमेका छन् । उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासङ्ग्रह प्रकाशित छन् ।
राई रावासावा प्राज्ञिक समाजका सचिव तथा लघुकथा समाजको पहिलो शाखा खोटाङका अध्यक्ष हुन् । ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा सक्रिय रहँदै आएका उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासङ्ग्रह पनि प्रकाशित छन् ।
राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासङ्ग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादनको दक्षता देखाएका छन् । नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप राईले धेरैतिरबाट सम्मान र कदरपत्र पाएका छन् ।




प्रतिक्रिया