जकार्ता, २२ पुस । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले जनाएको छ ।
विपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २ः३० प्रहार गरेको तथा लामो भारी वर्षाको कारणले नदीको सतह बढेको बिएनपिबीले जनाएको छ ।
एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घरहरू प्रभावित भएका छन्, जसमा सातवटा घरहरु ध्वस्त भएका छन् भने २९ वटा गम्भीर रूपमा क्षतिग्रस्त तथा ११२ वटामा सामान्य क्षतिग्रस्त भएका छन् ।
मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा बिएनपिबीको डाटा एण्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताएको छ ।
उनले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयासहरू विपद् व्यवस्थापन एजेन्सीहरू, खोजी र उद्धार टोलीहरू, सेना, प्रहरी र स्वयंसेवकहरूद्वारा संयुक्त रूपमा भइरहेको बताएको छ ।
स्थानीय अधिकारीहरूले (जनवरी ५ देखि जनवरी १८ ) सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बीचमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ । रासस




प्रतिक्रिया