रास्वपाबारे वरिष्ठ अधिवक्ता भट्टराईको टिप्पणीः गाली, गलौज र घृणाको भरमा शक्ति आर्जन गर्नेहरु वैकल्पिक शक्ति हुन सक्दैनन्


काठमाडौं, २२ पुस । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले गाली, गलौज, घृणा र अपमानको भरमा शक्ति आर्जन गर्नेहरु वैकल्पिक शक्ति हुन नसक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै कानूनको शासन मान्नेहरुमात्रै वैकल्पिक शक्ति हुनसक्ने बताएका हुन् । पुराना दलहरु सबै भ्रष्टाचारी हुन् भन्ने मिथ्या कुरा गर्ने शक्ति वैकल्पिक शक्ति हुनै नसक्ने उनको भनाइ छ ।

‘गाली, गलौज, घृणा र अपमानका भरमा शक्ति आर्जन गर्नेहरु वैकल्पिक शक्ति हुन सक्दैनन् । कानूनको शासन मान्ने मान्छेमात्रै वैकल्पिक शक्ति हुन्छन् । पुराना दलहरु सबै भ्रष्टाचारी हुन् भन्ने मिथ्या कुरा गर्ने शक्ति वैकल्पिक शक्ति हुँदैन । यदि त्यस्तो शक्ति निर्वाचनबाट आइहालेछ भने पनि ५ वर्षसम्म टिक्दैन,’ उनले भने ।

साथै, उनले रास्वपाका सभापति रवि लामिछाने आगामी निर्वाचनमा उम्मेदवार बन्न पाए पनि सांसदको शपथ लिएर प्रधानमन्त्री बन्न भने नसक्ने बताए । लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम किनारा नलागेसम्म उनी स्वतः निलम्बन हुने वरिष्ठ अधिवक्ता भट्टराईले बताए ।

‘रविजीको हकमा उहाँलाई निर्वाचनमा उठ्नका लागि कानून र संविधानले रोक्दैन । तर, सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएकाले उहाँले निर्वाचन जितेर आउनुभएछ भने पनि उहाँको शपथ गराउनै गाह्रो छ । शपथ भइहाल्यो भने पनि उहाँले प्रतिनिधिसभामा गएर बस्ने हैसियत राख्नुहुन्न । उहाँ स्वतः निलम्बनमा पर्नुहुन्छ । सांसदको रुपमा काम गर्न सक्नुहुन्न । प्रधानमन्त्री बन्न मिल्दैन,’ उनले भने ।