समता स्कुललाई कम्प्युटर हस्तान्तरण


भोजपुर, २३ पुस । प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

विद्यालयका बालबालिकालाई पठनपाठनमा थप सहजता प्रदान गर्दै प्रविधिमैत्री कम्प्युटर शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ कम्प्युटर वितरण गरिएको उपप्रमुख शेर्पाले बताइन् । विद्यार्थीहरू निवेदनसहित आफ्नै कार्यकक्षमा आएर कम्प्युटरको माग गरेको जानकारी दिँदै उनले शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन स्थानीय सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गरिन् ।

“मैले यसअघि पनि विभिन्न विद्यालयमा आवश्यकताका आधारमा सहयोग गर्दै आएकी छु”, उपप्रमुख शेर्पाले भनिन्, “स्थानीय सरकारले शिक्षालाई आधुनिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउन निरन्तर प्रयास गरिरहेको छ ।” कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन प्रधानले बताए । उनका अनुसार विद्यार्थीलाई समय व्यवस्थापन गरेर नियमित रूपमा कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

“विद्यालयले कम्प्युटर प्राप्त गरेको छ”, अध्यक्ष प्रधानले भने, “यसले कम्प्युटर शिक्षा सञ्चालन गर्न सहजता थप्ने हाम्रो अपेक्षा छ । विद्यालयले विद्यार्थीलाई प्रविधिमैत्री र समयानुकूल शिक्षा दिन निरन्तर ध्यान दिँदै आएको छ ।”

विसं २०७५ सालदेखि सञ्चालनमा आएको समता विद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन गर्ने ३४३ विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । रासस