एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बसेको छ : प्रदीप ज्ञवाली (भिडिओ-सहित)


काठमाडौं, २३ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो पार्टी जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बसेको बताएका छन् । उनले भने,‘साथीहरुले चुनाव गरे भने, चुनाव हुने भयो भने पनि हामी तयार नै छौं । एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले बयान नलिएको बरु ओलीले आफ्नो भनाई भनेर लेखेर दिएको स्पष्ट पारे ।

उनले आयोगको गठन प्रक्रिया र आयोगको नेतृत्व गर्ने व्यक्तिको निष्पक्षतामाथि आफूहरुले सुरुमै प्रश्न उठाएको पनि स्मरण गराए । उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई प्रि–स्क्रिप्टिेडको संज्ञा दिए । उनले पार्टीको ११औं महाधिवेशनको क्रममा महासचिव नपाएर रोएको भन्ने कुरा शतप्रशित गलत भएको स्पष्ट पारे ।

उनले महासचिवको उम्मेदवार तय गर्दा आफ्नो अनुपस्थितिमा तय भएकोले थोरै असहजिलो लागेको स्विकारे । तर, आफू अहिले जनताको बीचमा रहेको उनको भनाई छ । उनले एमाले एक भएर जाने पनि विश्वास दिलाए ।