काठमाडौं, २३ पुष । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले उर्जामन्त्री कुलमान घिसिङलाई लोभीको संज्ञा दिएका छन् । नागरिक सरकारमा बसेर दलीय राजनीति गरेको र अहिलेसम्म राजीनामा नदिएको विषयमा दीक्षितले कुलमानलाई लोभीको संज्ञा दिएका हुन् ।
आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कुलमानलाई मन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका हुन् । उनले भने,‘यस्तो लोभी पनि कोही हुन्छन् ? यिनीहरुले पार्टी खोल्नेबित्तिकै कुनै हालतमा मन्त्री पदमा बस्न हुँदैन, कुलमानको पार्टीको उद्घाटनको क्रममा म शुभकामना दिन गएको थिएँ, तर उनले राजीनामा दिलान् भनेको त अहिलेसम्म दिएका छैनन् ।’
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएर राजीनामा दिन भनेर निर्देशन दिँदा पनि मन्त्रीमा बसेकाहरुले पद नछोड्नु गलत भएको उनको भनाई छ । कुलमानले आफूलाई दल खोलेर शुभकामना दिन बोलाएको स्मरण गराउँदै अहिले दलमा छैन भनेर भन्नु गलत भएको उनको भनाई छ । कुलमानले सुरुमा आफ्नो दल खोल्दा ठूलो उत्साह भएपनि अहिले रास्वपामा खुसुक्क कुखुराजस्तो भएर पसेर आफ्नै महाबेईज्जत गरेको दीक्षितको टिप्पणी छ ।




प्रतिक्रिया