दुबई (संयुक्त अरब इमिरेट्स), २३ पुस । साउदी अरेबियाले बुधबार यमनका एक प्रमुख पृथकतावादी नेता दक्षिणी यमनको भविष्यबारे वार्ताका लागि राज्यको यात्रा गर्ने भन्दै अज्ञात स्थानतर्फ ‘भागेको’ दाबी गरेको छ । साउदी पक्षका अनुसार उक्त घटनाले यमनमा बढ्दै गएको राजनीतिक तथा सैन्य तनावलाई अझ स्पष्ट बनाएको छ ।
यमनमा साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले जारी गरेको वक्तव्यमा संयुक्त अरब इमिरेट्स (युएई) द्वारा समर्थित दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) र यमन सरकारबीचको पछिल्लो तनावपूर्ण अवस्थालाई उल्लेख गरिएको छ । उनका अनुसार काउन्सिलका अध्यक्ष एडारोस अल–जुबैदी साउदी अरेबियाको उडानमार्फत वार्ताका लागि जान लागेका थिए । तर काउन्सिलका अन्य अधिकारीहरू उडानमा सहभागी भए पनि अल–जुबैदी भने अन्तिम समयमा उडानमा नचढेको साउदी पक्षको भनाइ छ ।
प्रवक्ता अल–मल्कीले भने, “वैध सरकार र गठबन्धनले अल–जुबैदीले बख्तरबन्द सवारीसाधन, लडाकू सवारी, भारी तथा हल्का हतियार र ठूलो मात्रामा गोलाबारुदसहितको सैन्य परिचालन गरिरहेको सङ्केत गर्ने खुफिया जानकारी प्राप्त गरेका थिए ।” उनका अनुसार सोही सूचनापछि अल–जुबैदी ‘अज्ञात स्थानतर्फ भाग्नुभएको’ थियो ।
एसटिसीका तर्फबाट भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । काउन्सिलका अधिकारीहरू सम्पर्कमा नरहेको जनाइएको छ ।
पछिल्ला हप्ताहरूमा साउदी अरेबियाले एसटिसीका विभिन्न ठेगानामा हवाई आक्रमण गरेको र ती क्षेत्रमा एमिराटी हतियारहरूको ढुवानी भइरहेको दाबी गरेको थियो । साउदी पक्षको बढ्दो दबाब र यमनबाट हुथी विरोधी फौज फिर्ता लिन अल्टिमेटम दिइएपछि संयुक्त अरब इमिरेट्सले शनिबार आफ्ना सैनिक फिर्ता लिएको जानकारी दिएको छ ।
यमनमा बढ्दो तनावले साउदी अरेबिया र युएईबीचको सम्बन्धलाई थप चिस्याएको देखिन्छ । विशेषगरी लाल सागर क्षेत्रको प्रभाव र रणनीतिक नियन्त्रणका विषयमा अरब प्रायद्वीपका यी छिमेकी मुलुकहरू आर्थिक मुद्दा र क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी रहँदै आएका छन् ।
यद्यपि, साउदी अरेबिया र युएई दुवैले सन् २०१४ देखि यमनको राजधानी सानामा नियन्त्रण जमाउँदै आएका इरानी समर्थित हुथी विद्रोहीहरूविरुद्ध लड्ने साझा लक्ष्य रहेको दाबी गर्दै आएका छन् । तर यमनको आन्तरिक शक्ति सङ्घर्ष र पृथकतावादी गतिविधिले उक्त गठबन्धनभित्रकै मतभेद र अविश्वासलाई उजागर गरिरहेको विश्लेषकहरू बताउँछन् । रासस




प्रतिक्रिया