राष्ट्रिय सभाको निर्वाचनमा एक्लै होमियो नेकपा, यी हुन् उम्मेदवार


काठमाडौं, २३ पुष । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग चुनावी तालमेल गर्नेगरि अन्तिमसम्म गृहकार्यमा रहेको नेपाली कम्युनिष्ट पार्टी अन्ततः एक्लै चुनावी मैदानमा होमिएको छ । संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले कांग्रेस र एमालेसँग राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्नेगरि छलफल गरेका थिए ।

तर, कांग्रेस र एमालेले सम्मानजनक सिट नदिएपछि उनीहरु अन्तिममा एक्लै चुनावी प्रतिष्पर्धामा होमिन तयार भएका हुन् । कांग्रेस र एमालेले क्रमशः ९ र ८ सिटमा तालमेल गरेका छन् । एक सिट भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई दिईएको छ । सो दलले राष्ट्रियसभाको निर्वाचनमा महन्थ ठाकुरलाई उठाउने भएको छ ।

नेकपाले भने १८ जना उम्मेदवार नै टुँगो लगाएको छ । नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेको नाम तय गरेको छ । यस्तै, मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।