ओलीको आशंका : जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन्, अनि कसरी हुन्छ चुनाव ?


काठमाडौं, २४ पुष । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । खोसिएका हतियार र जेल फोडेर बाहिर निस्किएका मानिसहरु सरकारको नियन्त्रणमा नआएकोले चुनावी वातावरण नबनेको ओलीको दाबी छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा हिजो (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले आगामी फागनु २१ गते चुनाव हुने भने पनि चुनावी वातावरण नबनेको बताएका हुन् ।

उनले भने,‘सरकारले आगामी फागनु २१ गते चुनाव भनेको छ । चुनावी वातावरण बनेको छैन, खोसिएका हतियार अझै जम्मा भैसकेका छैनन्, जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन्, अनि कसरी हुन्छ चुनाव ?’ उनले देशका विभिन्न भागमा विभिन्न प्रकारका घटनाहरू, आपराधिक घटना भइरहेको र चुनावमा अझ बढी घटना हुन सक्ने आशङ्का व्यक्त गरेका थिए ।