नवलपुर, पुस २५ । अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।
नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १ सय २१ महिला मतदाता थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १ सय ७० कायम रहेको भुसालले बताए । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।
महिला मतदाताको सङ्ख्या घटेकोबारे कार्यालयले सूक्ष्म रूपमा खोजी नगरे पनि विवाह भएर जिल्ला बाहिर जाने तथा विभिन्न कारणबाट मतदाता नामावलीबाट नाम हटाइएको कारण हुनसक्ने उनले बताए । पुरुषको सङ्ख्या बढ्नुको कारण भने विदेशमा भएका तथा यसअघि छुटेका मतदाताले नाम दर्ता गराएको उनको भनाइ छ । नेपालकै कान्छो जिल्लाका रूपमा रहेको गण्डकी प्रदेशको यस जिल्लामा पुरुष र महिला मतदाता बराबर देखिएका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लामा महिला पुरुष मतदाता लगभग बराबरी अवस्थामा रहेका भुसालले बताए । नवलपुरमा एक लाख ३४ हजार १ सय ७० महिला तथा एक लाख ३४ हजार ३ सय ५२ पुरुष मतदाता रहेका उनको भनाइ छ । जिल्लामा दुई लाख ६८ हजार ५२६ मतदाता छन् जसमा चार जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतदाता छन् । रासस




प्रतिक्रिया