तनहुँ, २५ पुस । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।
कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको अघिल्लो वर्षको बजेटबाट निर्माण कार्य बढाइएकामा उक्त कार्य सम्पन्न भएपछि अब पाँच किमि सडक कालोपत्र हुन बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
उनले भने, “एक सातादेखि अहिले उक्त खण्डमा सवारी आवतजावत रोकिएको छ । केशवटार–कुलुड हुँदै राजमार्ग भएर दमौली जाने आउने गरेका छन् ।”
दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लागिएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारबाट एक करोड बजेट पुनः विनियोजन भएको तथा केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले पटकपटक गरी हालसम्म करिब चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस




प्रतिक्रिया