काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता डिल्लीराम सुवेदीले पार्टीको विशेष महाधिवेशनको पक्षमा २ सय १३ जना महाधिवेशन प्रतिनिधिहरु थपिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गर्ने ५४ प्रतिशतमध्ये २३ जनाले विभिन्न डर र प्रलोभनमा परी हस्ताक्षर फिर्ता लिएको भए पनि अरु २ सय १३ जना प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा उभिएको बताएका हुन् ।
‘मलाई मुख्यमन्त्रीको दवाब आयो, मलाई फलानो नेताको दवाब आयो भनेर हस्ताक्षर फिर्ता लिनेको संख्या २३ जनाको छ भने थपिनेको संख्या २ सय १३ जनाको छ,’– उनले भने ।
महाधिवेशन प्रतिनिधिहरु काठमाडौं नआउन् भनेर पार्टी फुट्छ भनेर नेताहरुले नियोजित मनशायले चलाएको हल्ला चलाएको पनि उनले बताए । विशेष महाधिवेशनले कांग्रेस कुनै पनि हालतमा नफुट्ने उनको दाबी छ ।
अहिले विशेष महाधिवेशनको सबैखालको तयारीहरु अगाडि बढिरहेको उनले बताए । मञ्च, आवास, प्रतिवेदन लेखन, सांस्कृतिक प्रस्तुतिलगायतका कामहरु पनि भइरहेको उनले बताए । आफ्नो मत नेतृत्व परिवर्तनको पक्षमा रहेको उनले बताए ।




प्रतिक्रिया