दुबई, २५ पुस । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गरेपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् ।
तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि भग्नावशेष छरिएका देखिएका छन् । कार्यकर्ताहरूले बाहिर पठाएका छोटा अनलाइन भिडियोहरूमा प्रदर्शनकारीहरूले आगो बाल्दै इरानको ईश्वरतान्त्रिक शासनविरुद्ध नारा लगाएको देखिन्छ । लामो समय मौन बसेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया जनाउँदै प्रदर्शन हिंसात्मक बनेको र ‘हताहत’ भएको दाबी गरेको छ, तर त्यसबारे विस्तृत विवरण दिएको छैन । राज्य मिडियाले अमेरिका र इजरायलका ‘आतङ्कवादी एजेन्ट’ ले आगजनी र हिंसा भड्काएको आरोप पनि लगाएको छ ।
सञ्चार अवरोधका कारण प्रदर्शनको वास्तविक आकार र फैलावट तुरुन्तै पुष्टि गर्न सकिएको छैन । तर कमजोर अर्थतन्त्र, महँगी र बेरोजगारीले थलिएको अवस्थामा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूको भनाइ छ ।
यो विरोध प्रदर्शनलाई निर्वासित युवराज रेजा पहलवीको आह्वानप्रति जनसमर्थन कति छ भन्ने पहिलो ठूलो परीक्षणका रूपमा पनि हेरिएको छ । उनका पिता, पूर्व शाह, सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य भएको थियो । पछिल्ला प्रदर्शनमा शाहको समर्थनमा नाराबाजीसमेत सुनिनु, पहिले मृत्युदण्डसम्म हुन सक्ने अवस्थाको तुलना गर्दा जनआक्रोश कति गहिरो छ भन्ने सङ्केत मानिएको छ ।
अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार हालसम्मको झडप र दमनमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको छ । युवारज पहलवीले बिहीबार र शुक्रबार साँझ ८ बजे पुनः सडकमा उत्रिन आह्वान गरेका थिए ।
विश्लेषक होली डाग्रेसका अनुसार सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबाट धेरै इरानी नागरिकहरूले इस्लामिक गणतन्त्र हटाउने उद्देश्यसहित प्रदर्शनलाई गम्भीर रूपमा लिएको स्पष्ट हुन्छ । उनका अनुसार विश्वले प्रदर्शन नदेखोस् र सुरक्षाबललाई कडा कारबाही गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट बन्द गरेको हो ।
इन्टरनेट बन्द हुनुअघि बिहीबार साँझ तेहरानका विभिन्न बस्तीहरूमा ‘तानाशाह मूर्दावाद’ र ‘इस्लामिक गणतन्त्र मूर्दावाद’ जस्ता नाराले आकाश गुन्जिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले ‘यो अन्तिम युद्ध हो, पहलवी फर्कनुहुनेछ’ भन्दै शाहको प्रशंसा गरेका थिए ।
युवराज पहलवीले सञ्चार बन्दलाई जनताको आवाज दबाउने प्रयास भन्दै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गरेका छन् । उनले इरानी जनताको आवाज चुप लाग्न नदिन अन्तर्राष्ट्रिय समुदायले सबै प्राविधिक, वित्तीय र कूटनीतिक उपाय अपनाउनुपर्ने बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकहरूमाथि हत्या, अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले हाल युवराजसँग प्रत्यक्ष भेट उपयुक्त नहुने बताउँदै घटनाक्रमको परिणाम कुर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
हालैका वर्षहरूमा प्रतिबन्ध र क्षेत्रीय द्वन्द्वका कारण इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । १२ दिने युद्धपछि रियाल मुद्रा ऐतिहासिक रूपमा कमजोर बनेको अवस्थामा सुरु भएको यो आन्दोलनले आगामी दिनमा इरानको राजनीतिक दिशा कता मोडिन्छ भन्नेबारे गहिरो प्रश्न खडा गरेको छ । रासस




प्रतिक्रिया