‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’: अभिनेता मल्ल


काठमाडौँ, २५ पुस ।रङ्गमञ्चमार्फत आफ्नो अभिनय कौशलता प्रस्ट्याएका अभिनेता सौगात मल्ल आफूले निर्वाह गर्नुभएको भूमिकाका कारण परिचित छन् । अभिनेता मल्लले निर्देशक आकाश अधिकारीले निर्देशन गर्नुभएको चलचित्र ‘रणभूमि’ मा पहिलोपटक अभिनेताका रुपमा अभिनय गरेका थिए ।

त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता चलचित्रमा काम गरे तापनि अभिनेता मल्ललाई रङ्गमञ्चको अभिनेता भनेर चिन्ने गरिन्छ । किनकी ती चलचित्रमार्फत उनले आफूलाई चिनाउन सकेनन् । तर, अहिले उनलाई केहीले ‘हाकु काले’ र ‘बमकाजी’ का उपनामले चिन्ने गरेका छन् । ती नामलाइ बिर्साउनसक्ने अभिनय नै उनको लागि चुनौतीसमेत बनिरहेको छ । साथै, आफूलाई चिनाउने रङ्गमञ्चमा उनी फर्किन सकेको छैन । तर, सङ्ख्यातत्मक वृद्धिले अभिनेता मल्ल पनि खुसी हुनुहुन्न ।

प्रस्तुत छ, उनले आफ्नो अभिनय यात्रा र आगामी योजनाबारे राससका समाचारदाता भेषराज कार्कीसँग गरेको कुराकानीको सम्पाददित अंश :

रङ्गमञ्चको अभिनेतालाई किन नाटकमा देखिन कठिनाइ भइरहेको छ ?

पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन । केही अभिनेता साथीहरूसँग पनि योजना बनाइरहेको छु । एउटा चलचित्रमा काम गरेर त्यसलाई नै नाटकका रुपमा समेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो । तर, विविध कारणले रोकियो । यद्यपि, अब नाटकमा फर्किनुपर्छ भन्ने मैले महसुस गरिसकेको छु । समय मिलाउन अलि अप्ठ्यारो परेकै हो तर छिट्टै रङ्गमञ्चमा प्रस्तुत हुने कोशिस गर्नेछु ।

चलचित्रमा एकै किसिमको भूमिकामा देखिनुभयो भन्ने पनि गुनासो छ नी ?

हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोशिस गरिरहेका हुन्छौँ । कहिलेकाहीँ निर्माताले पुरानै पात्रलाई ल्याउनुस्भन्दा पनि फरक गर्ने हाम्रो प्रयास हुन्छ नै तर हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रलाई निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निर्णय गर्ने पहिलो दर्शकको रुपमा निर्देशक नै हुन् । हामी अभिनेताले पनि आफ्नो काम इमान्दारितापूर्वक गर्नुपर्छ । मैले समय पाउँदा आफ्नो भूमिकालाई भिन्न बनाउने कुनै कोशिस छोड्दिन ।

लगातार चलचित्रमा देखिँदा यो समस्या आइरहेको त होइन ?

त्यो पनि हुनसक्छ । किनकी हामीले लगातार चलचित्रमा काम गर्दा एउटा पात्रबाट अर्को पात्रमा प्रवेश गर्छौं । उक्त समयमा म कहिलेकाहीँ वास्तविक सौगात मल्ल पनि हुँदिन । हालै एउटा चलचित्रको छायाङ्कन सकेर अर्को चलचित्रका निर्माता भेट्दा मेरो पात्रकै हाउभाउ आएछ तर त्यो आफूलाई थाहा हुँदैन । त्यसैले पनि हामी अभिनेतालाई समय चाहिन्छ । म त्यही योजनामा छु । यसले हामीलाई पुरानो पात्रबाट निकाल्ने मात्र नभई नयाँ पात्रलाई बुझ्न मद्दत पनि गर्छ । यसको फाइदा मलाई पनि हुन्छ ।

निर्माता, निर्देशकबाट पात्रलाई तयार गर्न समय पाउनुहुन्छ ?

कहिलेकाहीँ समय पाइँदैन, कहिले समय आफैँ निस्किन्छ किनकी चलचित्रको काम सकेर प्रदर्शन गर्नुपर्ने हुन्छ । कथावस्तुअनुसार त्यसलाई कति समयमा तयार गर्ने भन्ने योजना पनि हुन्छन् । तर, मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘भाइरल गोर्खे’का लागि झन्डै १२ दिन समय पाएँ । हामी छायाङ्कन गर्न नै निस्किएका थियौँ तर विविध कारणले छायाङ्कन ढिला भएपछि मैले त्यो समय मेरो पात्र र उसले बोल्ने संवादमा दिएँ । त्यो चलचित्रमा पनि देखिन्छ जस्तो लाग्छ । आगामी माघ १ गते उक्त चलचित्र नेपालभर प्रदर्शन हुँदैछ ।

तपाईंले पात्र कसरी तयार गर्नुहुन्छ ?

पटकथामा लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेशले त्यसलाई तयार गर्छ तर मैले आफ्ना भोगाइलाई समावेश गर्ने गर्छु । परिवेशअनुसार भोगाइले तयार गर्ने पात्रलाई कल्पना गर्छु । निर्देशकले देख्ने र मैले बुझ्ने पात्र मिलेपछि त्यसलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउने गरेका छौँ ।

तपाईंले अभिनय गर्नुभएको चलचित्र ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालसँग जोडिएको छ तर तपाई सामाजिक सञ्जालमा निकै कम सक्रिय हुनुहुन्छ नी ?

सानैदेखि मैले अभिनयबाहेक अन्य कुरा सोचिन । त्यसैले म प्रविधिमैत्री कम छु, मेरो ध्यान चलचित्रमै हुन्छ । अहिले म केही सामाजिक सञ्जालमा छु तर त्यसलाई मेरो कुरा पोस्ट गर्न नभई चलचित्रको सामग्री प्रचार गर्न प्रयोग गर्छु । आफ्नो कुराहरू प्रचार गर्न सामाजिक सञ्जाल चाहिन्छ भनेपछि म जोडिएँ तर राम्रोसँग प्रयोग गर्न जानेको छैन । चलचित्रका लागि पात्रको तयारी गर्दा मैले सामाजिक सञ्जालबारे बुझ्न पाएँ । हामीले यसको प्रयोग र यसले पार्ने लतको विषयलाई राम्रोसँग देखाएका छौँ । चलचित्रमा मेरो पात्र नै अरुको सामाजिक सञ्जालको लोकप्रियता देखेर त्यस्तै नक्कल गर्न खोज्ने छ, त्यसैले मैले सिक्दै गरेको सुहाएको छ ।

तपाईं समग्र कथाभन्दा पनि आफूले निर्वाह गर्ने पात्रलाई बढी ध्यान दिनुहुन्छ ?

पहिला मलाई मेरो पात्रले आकर्षण गथ्र्यो तर समग्रमा पटकथा बलियो भएन भने मेरो एक्लो पात्रले प्रभाव पार्न सक्दैन । त्यो मैले बुझिसकेको छु । तर म आफ्नो पात्रबाहेक अन्य कुरामा धेरै चासो लिन्न किनकी त्यसले मलाई नै अप्ठ्यारो पार्छ । मेरो काम निर्देशकले दिएको निर्देशन मान्ने र पात्रलाई न्याय गर्ने हो, मेरो ध्यान तेता केन्द्रित हुन्छ ।

आफ्नो काम आफैँलाई कस्तो लाग्छ ?

मलाई मैले गज्जब काम गरेँ भन्ने लाग्दैन । त्यसैले हरेक पात्रमा मेहनत बढाइरहेको हुन्छु । म आफ्नो काम धेरै मन नपराउने अभिनेतामा पर्छु । र, आफ्नो कामबाट सन्तुष्ट भयो भने अल्छी बन्न सकिन्छ भन्ने लाग्छ । त्यसैले मेरो फिल्मको सफलता वा असफलताले मेरो मेहनतमा प्रभाव पार्दैनन् । मैले सिकेको र जानेको नै अभिनय हो । त्यसैले म त्यसलाई नै सोच्छु र बाँच्छु । आफ्नो पात्रलाई सक्दो जीवन्त बनाउन मैले जानेको मेहनत गर्छु, गरिरहने छु ।

आफूले गरेको काम कहाँ बिग्रियो भन्ने थाहा हुन्छ ?

छायाङ्कनकै क्रममा कथामा लेखिएका कुराहरू भएका छन् कि छैनन् भन्ने थाहा हुन्छ । स्वराङ्कनसम्म यस चलचित्रबाट कति आशावादी रहने भन्नेमा लगभग स्पष्टता आउँछ तर त्यहाँ सबैको मेहनत जोडिएको हुन्छ, त्यसैले मैले आफ्नो किसिमले केही भन्न सक्दिन । चलचित्रले आफूलाई सन्तुष्टि दिएको छ भने राम्रो छ भन्न सकिन्छ, नत्र मैले हेरेको छैन भन्दिन्छु । बाँकी दर्शकले हेरेर आफ्नो समीक्षा दिनु नै हुन्छ । त्यसैले सफलता वा असफलताभन्दा पनि हाम्रो ध्यान मेहनत र आफूले पाउने पात्रमा केन्द्रित हुन्छ ।

चलचित्र छान्ने बेलामा त्यस्ता पक्षमा ध्यान दिनुहुन्न ?

मलाई निर्देशकको पछिल्लो कामभन्दा पनि उसले म कहाँ ल्याएको विषय र त्यसको प्रस्तुतीकरणले आकर्षण गर्छ । पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन । विश्वभर आश नगरिएकाले निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । र म कहाँ प्रस्ताव आएका चलचित्रबाट नै मैले छनोट गर्ने हो । कहिलेकाहीँ फलानो चलचित्र किन नगरेको भन्ने पनि सुन्छु तर म कहाँ आएका र मलाई राम्रो बन्छ भन्ने लागेका चलचित्रमै मैले काम गर्ने हो । त्यही गरिरहेको छु ।

त्यही भएर निर्माता बन्नुभयो ?

निर्माता बन्नुमा विषयवस्तु राम्रो लागेको हो । सो समयमा निर्माण पक्षलाई सहकार्यको आवश्यकता मैले महसुश गरेँ । कलाकारिताबाटै यो स्थान बनेको हुँ । त्यसैले आफ्नो कमाईलाई यहीँ प्रयोग गरेँ । राम्रो कथालाई पर्दामा ल्याउन म सहयोगी हुनुपर्छ भने म तयार छु किनकी मैले अभिनय र चलचित्रबाहेक अरु जानेको छैन । म निर्माताका रुपमा जोडिएर कुनै कथालाई पर्दामार्फत दर्शकसम्म पुग्न सजिलो हुन्छ भने म पनि त्यस्ता विषयमा सजिलो हुनुपर्छ ।

निर्माता त बन्नुभयो, निर्देशनतर्फको सोच के छ ?

त्यो सोच अहिले छैन । विशेषतः अभिनयमै केन्द्रित रहन्छु । कहिलेकाहीँ निर्माताका रुपमा पनि पाउनु हुनेछ । आगामी समयमा गर्ने कामका लागि पछिल्लो कामको समीक्षा गर्नेछु । गरिसकेको गल्ती फेरि नहोस् भन्ने नै सोचेको हुन्छु । निर्देशक बनेर त्यो सम्पूर्ण अभिभारा मैले उठाउन सक्ने बेला भएको छैन । त्यो नगर्ने भन्ने होइन वा गर्दिन भनेर ठोकुवा गर्न सक्दिन तर अहिले समय आएको छैन ।

चलचित्र ‘भाइरल गोर्खे’ मा अभिनेता शिव श्रेष्ठको नक्कल गर्नुभयो ? कत्तिको सहज भयो ?

मैले शिव दाइ (शिव श्रेष्ठ) को धेरै चलचित्र हेरेको छु । पछिल्लो समय चलचित्र भवनमा पुगेर मैले ‘ठूल्दाइ’ नामक चलचित्र हेरेको थिएँ । उहाँको अभिनय प्रतिको लगनशीलता र ऊर्जाले मलाई प्रेरणा नै दिएको छ । केही समय अगाडि चलचित्र ‘लप्पन छप्पन’ मा सँगै काम पनि गर्न पाएँ । बच्चादेखि नै दर्शक भएकाले मलाई उहाँको हाउभाउ पर्दामा ल्याउन सहज नै भयो । फेरि, चलचित्रमा उहाँको दुरुस्त नक्कल नभई उहाँ जस्तै बन्न खोज्ने पात्रलाई निर्वाह गरेको छु । त्यसैले शिव दाइ नभई उहाँ जस्तो बन्न खोज्ने पात्रलाई न्याय गरे जस्तो लागेको छ । उहाँको जीवनीमा बन्ने चलचित्रमा काम गर्नु पर्यो भने चाहिँ म निकै मेहनत गर्नेछु तर अहिलेलाई पात्रले खोजे जस्तो मात्र गरेको छु ।