काठमाडौँ, २५ पुस । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।
आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए । उनले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन गरिएको बताए ।
प्रतिष्ठानका उपाध्यक्ष केशव गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हकहित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । “हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ”, उनले भने ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पारे । उनले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गरे ।
प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १६० दिन र नायब सुब्बाका लागि ११५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । रासस




प्रतिक्रिया