अस्ताए समाचारवाचक चन्द


काठमाडौं, २५ पुस । रेडियो नेपालका पूर्व पत्रकार तथा समाचारवाचक हरीश चन्द (माइकल) को निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७७ वर्षीय हरीशको शुक्रवार बिहान निधन भएको हो । उनी राजधानीका चक्रपथस्थित मेट्रो अस्पतालमा उपचाररत थिए । दुई छोरी अमेरिका बस्दै आएका र एक छोरीमात्रै नेपालमा रहेका कारण बाँकी दुईजना आएपछि आइतवारमात्रै अन्त्येष्टि गरिने बताइएको छ । हरीश नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्दका श्रीमान् हुन् ।

उनले रेडियो नेपालमा अंग्रेजी समाचारवाचक र गोथे इन्स्टिच्युटमा जर्मन भाषा प्रशिक्षकका रूपमा तीन दशकको समानान्तर सेवा गरेका थिए । उनले त्रिचन्द्र कलेजमा अंग्रेजी पढे । कलेजमा मास्टर अफ सेरोमोनी (एमसी) का रूपमा उनको प्रसिद्धि चुलियो । स्नातक गरेलगत्तै राष्ट्रिय नाचघरमा एमसीकै जागिर मिल्यो । अंग्रेजीमा अनुवाद गरी बोल्न सक्ने मान्छे कमै थिए त्यतिखेर ।

१९७२ मा युगोस्लाभियाका राष्ट्रपति मार्सल टिटो राजा वीरेन्द्रको निम्तोमा नेपाल आएका बेलामा प्रज्ञा प्रतिष्ठानमा भएको सांस्कृतिक कार्यक्रम सञ्चालनका निम्ति उनलाई बोलावट भएको थियो– जतिखेर उनले भर्खरै रेडियो नेपालको जागिर थालेका थिए ।

सन् १९७३ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग सोल्टी होटलमा अन्तर्वार्ता लिए उनले । उनले ली क्वान यू, इमेल्दा मार्कोस, मोहम्मद अर्साद, योहानेस राउ, कोलिन पावल लगायतसँग रेडियोमा अन्तर्वार्ता लिएका थिए । उनीसँग सार्क श्रव्यदृश्य प्रोग्रामअन्तर्गत रेडियो, टेलिभिजनका लागि थुप्रै कार्यक्रम उत्पादन गरेको अनुभव पनि थिए ।