पृथ्वी जयन्तीमा भद्रकालीदेखि सिंहदरबारसम्म स्वतन्त्र युवाहरुको एकता परेड


काठमाडौं, २५ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा स्वतन्त्र युवाहरुले भद्रकालीदेखि सिंहदरबारसम्म आयोजना गरेका छन् । उक्त एकता परेड ऐतिहासिक र अत्यन्त भव्य हुने बताइएको छ । पुस २७ गते विहान ११ बजेबाट सुरु हुने यस परेडमा देशभरबाट हजारौँ नागरिकहरूको स्वतःस्फूर्त सहभागिता रहने बताइएको छ ।

राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना हुन लागेको र परेडमा नेपालका विविध जाति, भाषा, संस्कृति र पहिचान झल्किने सहभागिता देखिने बताइएको छ। नेपाली राष्ट्रिय झण्डासहित नागरिकहरू सडकमा उत्रिने यस दृश्यलाई राष्ट्रिय एकताको प्रतीकात्मक अभिव्यक्तिका रूपमा लिइएको छ।

पृथ्वीनारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

राजधानीको मुख्य मार्ग हुँदै सिंहदरबारसम्म पुग्ने यो एकता परेडले पौष २७ लाई केवल स्मरणको दिनमात्र नभई राष्ट्रिय एकताको जीवित उत्सवका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।