काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र संस्थापन पक्षका नेता रमेश लेखकबीच गएराति भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा लेखकले महामन्त्री थापालाई सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन रोकेर मध्यमार्गी बाटो रोज्ने सम्बन्धमा पठाएको प्रस्ताव सुनाएका थिए । तर, महामन्त्री थापाले देउवाको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।
महामन्त्री थापालगायत विशेष महाधिवेशनको पक्षमा छन् । आगामी पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरिएको छ । कांग्रेसभित्र २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए । कांग्रेसको विधानअनुसार कम्तिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको खण्डमा ३ महिनाभित्र केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
यतिबेला कांग्रेस संस्थापन समूह विशेष महाधिवेशन रोक्ने तयारीमा छ । विशेष महाधिवेशनले पार्टीलाई विभाजन गर्ने संस्थापन समूहको जिकिर छ । तर, विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनको सबै तयारी पूरा गरिसकेका छन् । विशेष महाधिवेशनमा सभापति देउवा पनि सहभागी भएर सम्बोधन गर्ने इतर समूहले विश्वास लिएका छन् ।




प्रतिक्रिया