महामन्त्रीद्वय विशेष महाधिवेशनको बटमलाइनबाट टसमस नभएपछि शीतल निवास पुगे देउवा


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । विहान पार्टीका नेता शेखर कोइरालालाई भेटेका देउवा लगत्तै शीतल निवास गएका हुन् । देउवा र राष्ट्रपति पौडेलबीचको भेट पार्टीको आन्तरिक विषय रहेको बताइएको छ ।

विशेष महाधिवेशन आह्वानका कारण कांग्रेस दुई कित्तामा उभिइरहेको बेलामा देउवाले राष्ट्रपति पौडेललाई भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशन पक्षधरले भोलि (पुस २७ र २८ गते) का लागि विशेष महाधिवेशनको आह्वान गरेका छन् । महामन्त्रीद्वय शर्मा र थापा विशेष महाधिवेशनको अडानबाट टसमस नभएको अवस्थामा देउवा निकै शंकटमा देखिएका छन् ।