काठमाडौं, २६ पुष । नयाँ र वैकल्पिक शक्तिहरु एक ठाउँमा उभिने भन्दै पुष १४ गते सहकार्य गरेका रवि लामिछाने र कुलमान घिसिङबीच सहकार्य अघि नबढ्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ । समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन अर्थात पुष १४ गते रास्वपासँग कुलमान घिसिङको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीले ७ बुँदे सहमति गरेको थियो । सोहीअनुसार समानुपातिकतर्फको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाईएको थियो । तर, पाँच दिन नबित्दै उज्यालो नेपालको तर्फबाट नेताहरु छुट्टै बन्दसूची बुझाउन पाईन्छ कि भनेर निर्वाचन आयोगमा बुझ्न पुगेको कुराले दुई दलबीच भएको एकता सहमति तुहिन लागेको चर्चा सुरु भएको थियो ।
यो बीचमा कुलमानलाई मन्त्रीको जिम्मेवारीबाट अलग हुन दबाव आयो । अन्ततः उनले भर्खरै मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आफूले अहिलेसम्म कुनैपनि दलको सदस्यता नलिएको दाबी गरेका थिए। तर, मन्त्रीबाट राजीनामा दिएको दिन भने आफू भोलिबाट राजनीतिमा पूर्ण रुपमा होमिन लागेको जवाफ दिएका थिए ।
हिजोमात्रै कुलमानले रास्वपाका सभापति रवि लामिछानेसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । सो भेटमा उनले सहकार्यको मोडेलबारे विस्तृतमा आफ्नो भनाई राखेको बुझिएको छ । राजनीतिक अडान, शक्ति बाँडफाँड र जिम्मेवारीको विषयमा दुई नेताबीच कुराकानी भएको बुझिएको छ । तर, कुलमानले रविबाट सहकार्यको लागि गम्भीरता नपाएको गुनासो आफूनिकट नेताहरुसँग गरेका छन् । उनले हिजो नै उज्यालो नेपाललाई नै सक्रिय बनाएर जानेबारे विकल्पमा छलफल गरेको स्रोतको भनाई छ । कतिपय नेताले रास्वपासँगको सहमतिप्रति इमानदार हुनुपर्ने र अन्तिमसम्म गम्भीर छलफल गरेर निकास निकाल्न सुझाव दिएको बताईन्छ ।
२१ फागुनको निर्वाचनको लागि प्रत्यक्षतर्फ नै उम्मेदवारी दर्ताको समय नजिकिएसँगै कुलमान आन्तरिक दबावमा परेका छन् । रास्वपासँग सहकार्य जेनतेन अघि बढाउने किन सहमतिबाट ब्याक भएर आफ्नै अगुवाईमा उज्यालो नेपाललाई अघि बढाउने भन्ने विषयमा कुलमान आज साँझसम्म निश्कर्षमा पुग्ने बताईन्छ । समानुपातिकतर्फ पार्टीले रास्वपासँग मिलेर सूची बुझाएकोले गम्भीर क्षति व्यहोर्नुपर्ने भन्दै कुलमानलाई रास्वपासँग नै सहकार्यमा अडिग रहन एकथरिले सुझाएका छन् ।
तर, अर्कोथरिले प्रत्यक्षतर्फ मात्रै भएपनि एकल उम्मेदवारी दिएर उज्यालो नेपाललाई अघि बढाउन दबाव दिएका छन् । कुलमानले आज विहानको लागि उज्यालो नेपालको तर्फबाट आकस्मिक बैठक तय गरेका थिए । तर, कुलमाननिकट नेताहरुले आज एकदिन रोकिएर रविसँग निर्णायक वार्ताको लागि सुझाएका छन् ।
रास्वपासँग कुलमानको मुख्य गुनासो भनेको समानुपातिकतर्फ पनि सांसद बन्नेगरि आफ्ना मान्छे नसमेटिएको, केन्द्रीय समितिमा सम्मानजनक प्रतिनिधित्वको सुनिश्चित्ता नभएको र आफ्नो वरियतामा पनि अन्याय भएकोलगायत रहेका छन् । रविले भने आफूपछिको दोस्रो वरियता भने कुनैपनि हालतमा नदिने भनेर जवाफ दिएका छन् । समानुपातिकतर्फ पनि सम्मानजनक तवरले नाम समावेश गरेकोले सच्याउने ठाउँ नभएको उनको जवाफ थियो ।
रविसँगको आजको छलफलमा पनि कुनै सकारात्मक निकास ननिस्किए उनेपालाई नै अघि बढाउने र एक्लै चुनावमा होमिने मुडमा कुलमान पुगेको बताईन्छ । बरु, कुलमानले योबीचमा जनार्दन शर्मालगायत अन्य केही नयाँ दलसँग पनि चुनावकेन्द्रित सहकार्यको विषयमा छलफल अघि बढाएको स्रोतको दाबी छ । file photo




प्रतिक्रिया