दयाहाङ राईको नजरमा चलचित्र ‘मिरमिरे’ कस्तो चलचित्र हो ?


काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’ बुवा र छोरीसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन् । छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी चलचित्र ‘मिरमिरे’ले भन्ने दयाहाङ बताउँछन् । यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू सिनेमामा केन्द्रित रहेको उनले बताएका छन् ।

झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै कुरा रहेको उनको भनाइ छ । “झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो चलचित्र छानेको हुँ,” दयाहाङ अगाडि थप्छन्, “कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ । तर, यो प्यासनले हेर्ने चलचित्र हो यो ।”

‘मिरमिरे’ हेरेर एकपछि सोच्ने कथा हो सिनेमा भएको उनको भनाइ छ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।