मलाई र लेखकलाई जेन-जी आन्दोलनको घटनामा मुछेर तेजोबध गर्ने प्रयास असफल भयोः ओली


काठमाडौं, २६ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दलहरुलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अन्ततः सरकार दलहरुसँग संवाद गर्ने ठाउँमा आइपुगेको बताएका हुन् ।

‘स्थापित राजनीतिक दलहरुलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको छ । दलहरुसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ । स्थापित दलहलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शङ्कास्पद पात्रहरुको माकफुइँलाई विफल तुल्याइएको छ,’– अध्यक्ष अ‍ोलीले भने ।

उनले सचेतन, सक्रियता, हस्तक्षेपकारी भूमिका, लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा प्रतिगमनको थप शृङ्खलालाई रोक्न एमाले सफल भएको पनि बताए । जेन–जी आन्दोलनको क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सम्भव भएसम्म उक्त घटनामा मुछेर तेजोबध गर्ने प्रयाससमेत असफल भएको बताए । ‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरुलाई भदौ २३–२४ का घटनामा संभव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्याप्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’ मार्फत् तेजोबध गर्ने प्रयाश पनि असफल भएको छ,’– ओलीले भने ।