काठमाडौँ, २६ पुस । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराए ।
‘आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ,’– उनले भने ।
महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभइ, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । उनले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे ।
‘ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्,’ उनले भने, ‘सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।’
आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने उल्लेख गरे । उनले ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए ।




प्रतिक्रिया