सचिवालय बैठकमा रवि लामिछानेको ब्रिफिङ : कुलमानले प्रत्यक्षतर्फ धेरै नै सिट माग्नुभयो, एकता जोगाउन सकिनँ


काठमाडौं, २६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङसँगको एकता जोगाउन नसकेको स्विकारेका छन् । आज आकस्मिक रुपमा बसेको सचिवालय बैठकमा उनले उज्यालो नेपाल पार्टीसँगको एकताको लागि हदैसम्म लचकता अपनाउँदापनि जोगाउन नसकेको बताएका हुन् ।

रविसँग हिजोमात्रै कुलमानले एक घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरेका थिए । सो भेटमा उनले पार्टीमा आफ्नो वरियता, पार्टीको राजनीतिक सिद्धान्त, समानुपातिकतर्फ आफ्नो समूहका उम्मेदवारको सांसद हुने अधिकतम सुनिश्चित्तालगायतको विषयमा कुरा राखेका थिए । रास्वपाका नेताहरुले त कुलमानले पार्टीको नामसमेत फेर्न दबाव दिएका थिए ।

तर, सभापति लामिछानेले अब धेरै ढिला भएको भन्दै कुलमानका मागप्रति सहमति जनाएनन् । कुलमानलाई आजै उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेर जाने तयारी छ । उज्यालो नेपाल पार्टीले आज साँझ ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।