काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता शंकर तिवारीले पार्टीको विशेष महाधिवेशन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुरामा आफूहरु विश्वस्त रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको विधानले दिएको व्यवस्थालाई बुझेर सभापति देउवा विशेष महाधिवेशनमा सहभागी हुने र उद्घाटन गर्ने बताएका हुन् ।
‘हामी अझै पनि के कुरामा विश्वस्त छौं भनेदेखि– पार्टीका सभापति आफैं आएर उद्घाटन गर्नुहुनेछ । उहाँले अझै पनि समय बाँकी छ, यो पार्टीको विधानले दिएको व्यवस्थालाई बुझेर आउनुहुन्छ भन्ने कुरामा हामी आशावादी छौं,’– उनले भने ।
विशेष महाधिवेशनबाट विधान संशोधनदेखि धेरै कुराहरु पारित हुने उनले बताए । विशेष महाधिवेशनले नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने दवाब रहेको उनले बताए । यस विशेष महाधिवेशनले ऐतिहासिक निर्णय गर्ने बताए । ‘विधान संशोधनदेखि धेरै कुराको प्रस्तावहरु पारित हुन्छन् । त्यो कुरा प्रष्ट छ । यसले नेतृत्व चयन गर्ने कि नगर्ने भन्ने कुरा हो । नेतृत्व चयन गर्नका लागि पनि ठूलो दवाब छ,’– उनले भने ।
विशेष महाधिवेशनबाट कांग्रेस बदलिएको सन्देश दिन महाधिवेशन प्रतिनिधिहरु आँतुर रहेको उनले बताए । नेता तिवारीले नेतृत्व बदल्ने, नबदल्ने भन्ने कुरा महाधिवेशन हलले नै निर्णय गर्ने बताए ।




प्रतिक्रिया