देउवालाई कांग्रेस नेता आचार्यको सुझावः जिम्मेवारी सुम्पेर अभिभावकको भूमिकामा बस्नुस्


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले आफ्नो जिम्मेवारी सुम्पिएर अभिभावकको भूमिकामा बस्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सभापति देउवाले अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने उनको सुझाव छ । ‘सभापति देउवा अब पार्टीको अभिभावकमा रहेर नयाँ सभापति वा नेतृत्वलाई जिम्मेवारी सुम्पन यो अवसर पनि हो । आशा छ, सभापति देउवाले निष्पक्ष रूपमा यो अवसरको सदुपयोग गर्नु हुनेछ,’– विशेष महाधिवेशनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा भनेका छन् ।

केन्द्रीय कार्यसमिति विशेष महाधिवेशन बोलाउन तयार नभएको अवस्थामा ५० प्रतिशतभन्दा बढी विशेष महाधिवेशन प्रतिनिधिले निर्णय गरेमा त्यो पूर्ण वैधानिक हुने पनि उनको भनाइ छ । तर, ५० प्रतिशतभन्दा कमको उपस्थिति भएमा त्यो अधिवेशन नभएर भेलाका रूपमा परिणत हुने उनको भनाइ छ ।

साथै, २०८२ को उथलपुथलमा भने कांग्रेस केही अन्योलग्रस्त देखिएको उनले टिप्पणी गरेका छन् । उनले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई घरैबाट नियालिरहेको पनि बताएका छन् । कांग्रेसको इतिहासमा करिब ६८ वर्षपछि द्वन्द्वका बीच हुन लागेको विशेष अधिवेशनले के गर्छ र कसरी गर्छ ? भन्ने उत्सुकता बाँकी नै रहेको उनले बताएका छन् ।