शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान


दमौली (तनहुँ), २७ पुस । शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो दुई जना पुरुष मृत अवस्थामा भेटिए ।

खबर दिने व्यक्ति थिए, निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रका एक कर्मचारी । दैनिक काममा लागेका ती कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी घटनास्थल पुग्यो, दृश्य सामान्य थिएन । दुवै पुरुष धारिलो हतियारबाट निर्ममतापूर्वक प्रहार गरिएको अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीले प्रारम्भिक सोधखोज गर्दा एउटा पीडादायी सत्य बाहिर आयो । मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरेर फोहरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक थिए ।

तीन महिनाअघि काम सुरु गरेका नारायण यो महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गर्दै आएका थिए । अर्का मृतक पुरुष भने पहिचानविहीन थिए । उनी प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका थिए । उनको नाम, ठेगाना कसैले भन्न सकेन । तर एउटा कुरा सबैलाई थाहा थियो । उनी एक जना महिला सँगसँगै बस्दै आएका थिए ।

जब दुई जनाको शव फेला प¥र्यो र टहरामा बस्ने महिला एकाएक गायव भइन्, शङ्का गहिरिँदै गयो । प्रहरी र स्थानीयले आसपास खोजी थाले । खोजी जारी नै थियो, करिब दिउँसो १२ बजेको आसपास अर्को हृदयविदारक खबर आयो । ती महिला पनि मृत अवस्थामा भेटिइन् ।

दुई पुरुषको शव भेटिएको स्थानबाट झण्डै ७०० मिटर पर, जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलभित्र महिलाको शव भेटियो । उनको पनि पहिचान खुल्न सकेको छैन । पहिचान नखुलेका ती महिला र पुरुष दुवै टहरामै बस्दै आएका थिए । बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहरमैलाबाट कबाडी छान्ने काम गरेर जीवन गुजारा गर्दै आएका उनीहरू झण्डै एक वर्षदेखि त्यहीँ बस्दै आएको स्थानीयहरू बताउँछन् ।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले तीन जनाको शव विभत्स अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार नारायण विकको पेट र टाउकामा गम्भीर चोट छ । पहिचान नखुलेका अर्का पुरुषको पेटमा यति गहिरो प्रहार गरिएको थियो कि आन्द्रा नै बाहिर निस्किएको अवस्था थियो । महिलाको शव भने घाँटी रेटिएको अवस्थामा फेला परेको थापाले बताए ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार हालसम्म दुई जनाको पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति अत्यन्तै शङ्कास्पद भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की स्वयं घटनास्थलमा खटिएका छन् ।

गण्डकी प्रदेशको प्राविधिक टोली, तालिम प्राप्त कुकुरसहित अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । रासस