देउवाले कांग्रेसबाट लिनुपर्ने सबै लिनुभयो, हामीलाई दिने बेलामा भागिरहनुभएको छः प्रकाश रसाइली


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले सभापति शेरबहादुर देउवाले पार्टीबाट लिनुपर्ने सबै चिज लिएर दिनुपर्ने बेलामा भने टाढा–टाढा भागेको टिप्पणी गरेका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘सभापति शेरबहादुर देउवा पार्टीबाट लिनुपर्ने जति सबै चिज लिनुभयो, अब हामीलाई दिनुपर्ने बेलामा टाढा–टाढा भागिरहनुभएको छ,’– उनले भने ।

उनले पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीलाई साला, साली, दाइ, भाइ, हुक्के, बैठके, ढोकेबाट मुक्त राखेको खण्डमा कांग्रेसले बहुमत ल्याउने बताए । महामन्त्रीद्वयलाई देउवालाई साथमै लिएर हिँड्ने चुनौति रहेको बताए ।

साथै, उनले अब कांग्रेसका कार्यकर्ताले घण्टी, डण्डी, लौरो, सूर्य, हसिया हथौथा केहीमा पनि भोट नहाल्ने उनले बताए । कांग्रेसले जेन–जी आन्दोलनको क्रममा साहदत प्राप्त गरेको ७६ जना युवाहरुको परिवारको आँसु पुछ्न सक्नुपर्ने उनले बताए ।