देउवालाई नेता पौडेलको सुझावः गणितको आधारमा नैतिकताको ख्याल राख्नुहोला


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री प्रदीप पौडेलले पार्टीको भविष्यका निम्ति नेतृत्व फेर्नुपर्ने बेला आएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता पौडेलले अब गणितको आधारमा नैतिकताको ख्याल राख्न सभापति शेरबहादुर देउवलाई आग्रह गरे ।

सभापति देउवालक्षित गर्दै नेता पौडेलले भने, ‘यो लोकतान्त्रिक व्यवस्थामा गणित प्रधान विषय हुन्छ । गणितले के देखाएको छ, गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ । म लोकतान्त्रिक पद्धतिका निम्ति संघर्ष गरेको नेतृत्वलाई त्यो अनुरोध गर्न चाहन्छु ।’

उनले विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस फुटाउने चाहना नरहेको बताए । उनले विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस बलियो बनाउएर एकता कायम गर्ने रहर रहेको बताए । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उनीँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लाग्यो भन्न नपाइने उनले बताए ।

साथै, गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन भनेको पनि उनले बताए । कांग्रेसलाई पनि खबरदारी गर्नेगरी भएको आन्दोलनको मर्मलाई बुझ्दै ‘हामीले पनि केही गल्ती गरेका रहेछौं’ भनेर सच्चिएर जानुपर्ने नेता पौडेलको भनाइ छ ।