‘शिल्प, भाषा र उद्यमबाटै नेवाः पहिचान जोगिनुपर्छ’


काठमाडौँ, २७ पुस । सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शिल्प, भाषा र उद्यमको संरक्षण तथा प्रवद्र्धनबाटै नेवाः समुदायको पहिचान जोगाउन सकिने बताएका छन् ।

आज पद्मरत्न लुमन्ती गुठीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘संविधानको एक दशकः देशको परिस्थिति र नेवाः समुदायको अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले नेवाः संस्कृतिलाई उद्यमसँग जोड्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

नेवाः समुदाय ऐतिहासिक रूपमा शिल्प र सीपका कारण चिनिएको स्मरण गराउँदै श्रेष्ठले पछिल्लो समय त्यो पहिचान कमजोर बन्दै गएकाप्रति चिन्ता व्यक्त गरे । “संस्कृति वृद्धि र शिल्पबाट चिनिन्थ्यो, तर आज त्यो हराउँदै गएको छ । बहाल र ब्याजमा मात्र निर्भर भएर हुँदैन, उद्यम र श्रममा फर्किनुपर्छ,” उनले भने ।

श्रेष्ठले नेवाः समुदायसँग गहिरो सांस्कृतिक धरातल र अपार सीपको खानी रहेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट स्वच्छ, प्रभावकारी र वैधानिक विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । “हरेक भाषामा ज्ञान हुन्छ, त्यसैले भाषा संरक्षण अनिवार्य छ,” उनको भनाइ थियो । आत्मकेन्द्रित सोच त्यागेर सामूहिक प्रयासबाट मात्र समाज रूपान्तरण सम्भव हुने उनले स्पष्ट पारे ।

कार्यक्रममा गुठीका सचिव नरेशवीर शाक्यले संविधानले सम्पूर्ण भाषाभाषीलाई समान अधिकारको व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे । उनले अधिकार व्यवहारमा लागू गराउन र पहिचान संरक्षणका लागि नेवाः समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पद्मरत्न लुमन्ती गुठीका अध्यक्ष केशवमान शाक्यले समाज रूपान्तरणमा पद्मरत्न तुलाधरले पुर्‍याएको योगदानलाई जीवन्त राख्ने उद्देश्यले गुठीले निरन्तर सामाजिक, सांस्कृतिक तथा बौद्धिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । रासस