काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा नयाँ परिस्थिति बनेकाले अब पुरानो ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले मनस्थिति र आनीबानी पुरानै राखेर नयाँ भविष्य बनाउन नसकिने बताएका हुन् ।
‘अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन । मुलुकमा नयाँ परिस्थिति बनेको छ । मनस्थिति पुरानो राखेर हुँदैन । पुरानै आनीबानीलाई राखेर नयाँ भविष्य बनाउन सकिँदैन,’– उनले भने ।
विशेष महाधिवेशनबाट अब असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई कांग्रेसले नवीन आशा र विश्वासका साथ अगाडि लिएर जाने पनि उनले बताए । उनले अब ‘देशलाई शासनमात्रै होइन, सुशासन दिन्छौं’ भन्ने संकल्प गर्ने बेला आएको बताए । महामन्त्री शर्माले जिम्मेवार राजनीतिज्ञले आफूले गरेको कर्मको श्रेय पनि लिनसक्नुपर्ने बताए ।
उनले अब कांग्रेसलाई बदलेर, देशलाई नै बदलेर छाड्ने बताए । बद्लिएको समयअनकूल कांग्रेसले आफूलाई बदल्नका लागि आफूहरु विशेष महाधिवेशनको पक्षमा उभिएको उनले बताए । विशेष महाधिवेशन केवल कांग्रेसले आफूलाई बलियो बनाउनका लागि मात्रै नभएर अनेक कारणले कमजोर बन्न पुगेको देशलाई बलियो बनाउन रहेको उनले बताए ।
जेन–जी आन्दोलनको क्रममा देशमा विभिन्न संरचनामात्रै नभएर अहिले नेपालीहरुको मनसमेत जलेको उनले बताए । अब जलेको मन, विश्वास र प्रेमलाई जोड्न सकिएन भने देश बनाउन नसकिने उनले बताए । जलेको मन जोड्ने संकल्पको साथ विशेष महाधिवेशनमा उभिएको उनले बताए ।
‘हामी कमजोर बन्न गएको देशलाई बलियो बनाउन चाहन्छौं । आज नेपालीबीचको विश्वास जलेको छ, प्रेम जलेको छ । जलेको मनलाई जोड्न सकिएन भने देश बनाउन सकिँदैन । मनहरुलाई जोड्ने संकल्पको साथ विशेष महाधिवेशनमा उभिएका छौं,’– उनले भने ।




प्रतिक्रिया