काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताए ।
महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताए । विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उनले भने, ‘पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।’
महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताए । उनले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताए । अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उनको भनाइ थियो ।
जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्ने बताए ।
उनले पार्टीमा रुपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको बताए । सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्दै उनले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएकोधारणा व्यक्त गरे ।
विशेष महाधिवशेनमा जनजीविकाका त्यस्ता विषयलाई बन्द सत्रमा छलफल गर्ने बताउँदै उनले जनताको असन्तुष्टिका विषयमा छलफल गरी सङ्कल्प गरेर अघि बढ्ने अठोट व्यक्त गरे । महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे अवगत गराउँदै निजी क्षेत्रलाई प्रोत्साहनका लागि आगामी दिनमा थप गर्नुपर्ने बताए ।




प्रतिक्रिया