पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो


झापा, २८ पुस । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ । गत साउनदेखि मङ्सिरसम्ममा छ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा भारतबाट आयात भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले ८२ लाख ७३ हजार राजस्व सङ्कलन गरेको उनले जानकारी दिए ।

आव २०८१/८२ को सोही अवधिमा पूर्वीनाकाबाट ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवको तुलनामा चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको हो । नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने उनले बताए ।

चालु आवको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको सूचना अधिकारी हुमागाईंले उल्लेख गरे । उनका अनुसार चालु अवमा सोही नाकाबाट एक अर्ब १८ करोड तीन लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको छ । गत आवको सोही अवधिमा एक अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ । रासस