काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबउप्रान्त राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यताप्रति अविचलित रहने प्रतिवद्धता व्यक्त गरेका छन् । विशेष महाधिवेशनको बन्दसत्रमा ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ शीर्षको राजनीतिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी नजानी पार्टी र नेतृत्वबाट गल्ती भएको स्वीकार गरेका छन् ।
नेतृत्वबाट भएका गल्ती र अति सत्ताकेन्द्रित सहकार्यका कारण मुलुकलाई सकारात्मक दिशा प्रदान गर्ने क्रममा कांग्रेसले पहलकदमी र निर्णय लिन नसकेका कारण राजनीतिक संकट सिर्जना भएको पनि उनले उल्लेख गरेका चन् । उक्त गल्तीप्रति गम्भीर आत्मसमीक्षा तथा आत्माआलोचना गर्दै उनले भनेका छन्, ‘तिनै कमजोरी र त्रुटीबाट पाठ सिकेर अब उप्रान्त राष्ट्रिय हित एवं लोकतान्त्रिक मूल्य( मान्यताप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गर्दै यो दोस्रो विशेष महाधिवेशन नेपाली कांग्रेस पार्टी जनताको भावनाअनुसार निष्ठा र सेवाको राजनीतिमा समर्पित रहने दृढ संकल्प गर्दछ ।’
साथै, निर्वाचन पूर्वको गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक विचार र संगठनलाई थप क्षति पुग्ने तथ्यलाई मनन गर्दै पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई विश्वास दिलाउँदै नेपाली कांग्रेसले भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन नगर्ने पनि उनले प्रष्ट पारेका छन् । ‘हामी आफ्नै जनता र पार्टीको शक्तिको आधारमा एक्लै लड्नेछौं र आफ्ना मतदातालाई हाम्रो चुनाव चिन्ह ‘रुख’ मामात्रै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं । नेपाली कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्ने, जसरी पनि जित्ने होइन सही बाटो हिँडेर जित्ने नीति नेपाली कांग्रेसको गौरवशाली सुदूर विगत हो ।’
कांग्रेसले सत्ता र लेनदेनको राजनीति त्यागेर आदर्श, सिद्धान्त, मूल्यमा आधारित राजनीति गर्ने पनि उनले बताएका छन् ।
महामन्त्री थापाको राजनीतिक प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।




प्रतिक्रिया