काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन फेरि आग्रह गरेका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन सभापति देउवालाई आग्रह गरेका हुन् ।
साथै, उनले कार्यवाहक सभापति पूर्णबहादुर थापालगायतका नेताहरुलाई समेत विशेष महाधिवेशनमा सहभागी भएर अपनत्व ग्रहण गर्न आग्रह गरे । महामन्त्री थापाले हिजो उद्घाटनसत्रको क्रममा पनि विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यवाहक सभापति खड्कालगायतलाई आग्रह गरेका थिए । विशेष महाधिवेशन पक्षधरले आधिकारिक पत्र पठाएर नै देउवालाई निमन्त्रणा गरेको थियो ।
‘बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईंहरूको सहभागीता अहिले पनि हामीले अनुरोध गरिरहेका छौं,’– महामन्त्री थापाले भने ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सभापति देउवाले भने महराजगञ्जमा आफूपक्षीय नेताहरुको छलफल बोलाएका छन् । सभापति देउवाले दिउँसो ३ बजेका लागि आफूपक्षीय नेताहरुको बैठक बोलाएको एक नेताले पुष्टि गरे ।




प्रतिक्रिया