कार्यवाहक सभापति खड्काको अपिलः पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्नु


काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरसँग आग्रह गरेका छन् । आज (सोमबार) अपिल जारी गर्दै कार्यवाहक सभापति खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् ।

‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’– कार्यवाहक सभापति खड्काद्वारा जारी अपिलमा भनिएको छ ।

कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको बताएका छन् । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा पार्टीको १५ औं महाधिवेशन हुने र त्यसबाट नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको कार्यवाहक सभापति खड्काले स्मरण गराएका छन् ।

अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक रहेको पनि कार्यवाहक सभापति खड्काले औंल्याएका छन् । कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै मिली देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उनले उल्लेख गरेका छन् । File Photo/RN