नसर्ने रोगको रोकथाम सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री डा गौतम


काठमाडौँ, २८ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।

नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्व एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले नसर्ने रोगको उपचार लागत बढ्दो अवस्थमा रहेकाले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको समेत बताइन् ।

“सरकारले नसर्ने रोगको उपचारमा धेरै रकम खर्च गरिरहेको छ, त्यसमा धेरैजसो रकम रोकथामको सट्टा उपचारमै खर्च भइरहेको अवस्था छ”, मन्त्री डा गौतमले भनिन्, “क्यान्सर र मुटु रोगजस्ता रोगहरूको उपचारमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिन्छ, अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।”

उनले नसर्ने रोगको रोकथामलाई सुदृढ गर्न दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने बताइन् । सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवाहरू उपलब्ध भए पनि ग्रामीण र गरिब जनसङ्ख्याले उपचार सेवा नपाइरहेको उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य समस्या नदेखिने महामारीका रूपमा देखापरेको बताइन् । उनले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यानजस्ता रोकथामका उपायहरूलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पु¥यारहेको बताइन् ।

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोगको रोकथामका लागि सरकारले बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिइन् ।

नसर्ने रोग ‘एनसिडी’ एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको रोकथाम गर्न राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा भारत श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्याण्ड, म्यान्मार, मलेसिया जेनेभालगायत ११ देशमा नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्को सहभागी रहेको छ ।

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको छ । रासस/file photo