विशेष महाधिवेशन विशेष हुँदै : दबावमा देउवा, पखाईमा गगन


काठमाडौं, २८ पुष । नेपाली कांग्रेस इतिहासकै जटिल मोडमा उभिएको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेर अघि बढेपछि सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा भने सर्वाधिक दबावमा छन् ।

विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको उल्लासमय उपस्थिति देखिएपछि संस्थापन पक्ष दबावमा परेको हो । सभापति देउवानिकट शीर्ष नेताहरु नै विशेष महाधिवशेनको पक्षमा खुलेपछि पनि यो समूह दबावमा परेको छ । विशेष महाधिवेशन सफलतापूर्वक उन्मुख भएपछि आज दिनभरि सभापति देउवा आफूनिकट नेताहरुसँग छलफलमा व्यस्त थिए ।

आज पनि संस्थापन पक्षधरले पार्टी विभाजन हुनेगरि कुनै अप्रिय कदम नचाल्न भनेर विशेष महाधिवेशन पक्षधरलाई सचेत गराएको थियो । महामन्त्रीद्धयले अघि सारेको राजनीतिक प्रस्तावको पनि खुलेर प्रशंसा भइरहेको छ । आजबाट पार्टी विभाजन नहोस भनेर पार्टीभित्र देउवा समूहमा खुलेका केही नेताहरुले अग्रसरता लिएका छन् ।

उनीहरुले सभापति देउवालाई महामन्त्रीद्धयसँग छलफल गर्न सुझाएका छन् । देउवाले पनि आफू पार्टी विभाजन नहोस भनेर सचेत रहेको भनेका छन् । तर, सम्वादको ढोका भने खुलिसकेको छैन । संस्थापन पक्षले विशेष महाधिवेशनलाई नीति अधिवेशनको रुपमा स्विकार गर्न सकिने भनेको छ । तर, महामन्त्रीद्धय यो विशेष महाधिवेशनमा सभापति आउनुपर्ने र यसको अपनत्व लिनुपर्ने मत राख्छन् । उनीहरु अझैपनि देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुनेमा विश्वस्त छन् ।

यस्तै, यसअघि केन्द्रीय समितिले आगामी बैशाख अन्तिममा गर्ने भनेर निर्णय गरेको १५औं नियमित महाधिवेशन त्यसअघि नै आवश्यक सबै समिति बनाउँदै जाने कुरामा सहमत हुनसक्ने भनेर भनेको छ । यस्तै, २१ फागुनमा हुने निर्वाचनको लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हस्ताक्षर गरेर टिकट वितरण गर्ने कुरा पनि अघि आएको छ । यी विषयमा छलफल गर्न महामन्त्रीद्धय तयार हुने वा नहुने भन्नेमा देउवा अझैपनि सशंकित छन् ।

आज रातभरि दुवै पक्षका मध्यमार्गी नेताहरु पार्टी विभाजनको लागि सक्रिय हुने भनिएको छ । देउवा पार्टी विभाजनको कंलक बोक्नुपर्ने हो कि भन्ने दबावमा परेको बेलामा महामन्त्री गगन थापा भने सभापति आएर यो विशेष महाधिवेशनको अपनत्व लिने प्रतिक्षामा छन् । file photo