काठमाडौं, २८ पुष । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । महामन्त्रीद्धयको आह्वानमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको बेलामा कावा सभापति खड्काले भने भोलि (मंगलबार) विहान ११ बजे बस्नेगरि बैठक बोलाएका हुन् ।
महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हिजोबाट विशेष महाधिवेशन जारी छ । नेपाली कांग्रेसको इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो । यसको अगुवाई महामन्त्री थापाले गरेका हुन् । विशेष महाधिवेशनको पक्षमा ६६ प्रतिशभन्दा बढि प्रतिनिधि रहेको उनीहरुको दाबी छ ।
पार्टी विभाजन हुने भयमा रहेका नेता तथा कार्यकर्ताहरुलाई आज सहमति हुने आशा थियो । तर, आज साँझसम्म पनि मध्यमार्गी नेताहरुको पहलले सार्थकता पाएन । सभापति शेरबहादुर देउवा सम्भावित परिस्थितिको सामना गर्न तयार हुनुपर्ने पक्षमा छन् । उनले महामन्त्रीद्धयसँग छलफल नगर्ने मुड बनाएका छन् । आज कार्यवाहक सभापति खड्काले सभापति देउवासँग लामो सम्वाद गरेपछि भोलिको लागि यो बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।





प्रतिक्रिया