किमाथाङ्का (सङ्खुवासभा), २९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारिएको जानकारी दिए । सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात र सञ्चारको असुविधा तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सुरक्षा रणनीति बनाइएको जनाइएको छ ।
उनले भने, “सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्नेगरी सुरक्षा रणनीति तयार गरिएको छ ।” जिल्लामा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । एक सय आठवटा मतदानस्थलमध्ये १९ मतदानस्थल सामान्य, ८२ संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ ।
अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा सुरक्षा रणनीति बनाइएको प्रजिअ थपलियाले बताउ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिले आधाभन्दा धेरै मतदान केन्द्र तथा स्थलको निरीक्षणसमेत गरिसकेको जनाएको छ ।
निर्वाचन सुरक्षा योजनाअनुसार पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने प्रजिअ थपलियाको भनाइ छ । त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङलगायतका काम पनि भइरहेको छ ।
स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति गरी करिब दुई बढी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलता हेरेर जिल्लामा तीनवटै सुरक्षा निकायका लागि थप जनशक्ति माग गरिएको छ ।
मतदानस्थल थप
प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख १९ हजार बढी मतदाता रहेका छन् । जिल्ला १० स्थानीय तहमा एक लाख १९ हजार ६३० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले जानकारी दिए । योसँग जिल्लामा दुई हजार ७६ मतदाता थपिएका छन् । विसं २०७९को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता थिए ।
मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल र मतदान केन्द्र थपिएको छ । जिल्लामा सिफारिस भएकामध्ये एक मतदानस्थल थपिएको छ । जिल्लामा एक मतदान केन्द्र र दुई मतदानस्थल थपिएको हो । हाल जिल्लामा १०८ मतदानस्थलबाट थप भएर १०९ मतदानस्थल र १६२ मतदान केन्द्र थपेर १६४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी बताए ।
मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल थपिएको हो । सङ्खुवासभामा नयाँ मतदानस्थल थपिएसँगै १०९ मतदानस्थल भएका छन् । भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय सिप्रुङमा एक मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चिचिला गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय, पाख्रिबास र मकालु गाउँपालिका–२ स्थित हिमान्द्री माध्यमिक सेदुवामा एक एक मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका प्रमुख राईले बताए ।
त्यसैगरी मकालु गाउँपालिका–६ को दीपज्यातो आधारभूत विद्यालय याफुडाँडाबाट सारेर वडा कार्यालयमा स्थानान्तरण गरिएको निर्वाचन कार्यालयका प्रमुख राईले बताए । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएका चारवटा मतदानस्थलमध्ये एक मात्र थप भएको हो । भौगोलिक विकटता, मतदाता सङ्ख्या र चार–पाँच घण्टासम्म हिँडेर मतदान गर्न जानुपर्ने बाध्यता भएका कारण चारवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको थियो । रासस




प्रतिक्रिया